
मिर्गौला पीडित दृष्टिविहीन युवतीको उपचारमा समस्या
भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरकी २७ वर्षीय दृष्टिविहीन महिलाको दुवै मिर्गौलाले काम नगरेपछि उनको डायलासिस भइरहेको छ । हप्तामा दुुईपटक मिर्गौलाको डायलासिस गर्नुपर्ने भन्दै परिवारले आर्थिक अभाव भएको जनाएको छ ।
भरतपुरको चितवन मेडिकल कलेजमा उपचाररत सङ्गीता महतोको दुई महिना अघि उपचारका क्रममा मिर्गौलाले काम नगरेको पाइएको उनका बुवा जीवन महतोले बताए । सङ्गीताको उपचारका लागि हालसम्म तीन लाख रुपैयाँ खर्च भएको भन्दै उनका बुवा जीवनले सबै रकम ऋण खोजेरै ल्याएको दुखेसो पोखे । दृष्टिविहीन छोरीमा पछिल्लो समय मिर्गौलाको समस्या देखिएपछि उपचार गर्दा आफूसँग भएको सबै पैसा सकिएको जीवनले बताए ।
‘हप्तामा दुुई पटक मिर्गौलाको डायलासिस गर्नुपर्छ, उपचारका लागि पैसा छैन’ जीवनले रुँदै भने, ‘आफन्त र साथीहरुसँग पैसा खोजेर उपचार गराउँदै आएको छु, साथै इनर भिजन सोसाइटीले पनि सहयोग गरेको छ ।’ पाँच वर्ष अगाडि छोरीलाई बाथ रोग देखिएपछि भारतमा लगेर उपचार गराउँदा सबै सम्पत्ति सकिएको भन्दै उनले अहिले आफ्नो परिवारको आर्थिक अवस्था नाजुक भएको बताए ।
छोरीको उपचारमा जग्गा जमिन सकिएको भन्दै आठ जनाको परिवार पाल्न र छोरीको उपचार खर्च जुटाउनै समस्या भएको उनले बताए । ‘गाउँकै बोर्डिङ स्कुलमा पिउनको काम गर्छु, अहिले त हप्तामा दुई दिन बिदा लिनुपर्छ’ जीवनले भने, ‘राम्रोसँग काम गर्न पनि पाएको छैन छोरीको उपचार खर्च जुटाउनै समस्या परेको छ ।’ चिकित्सकहरुले मिर्गौला फेर्नुपर्ने बताएको उल्लेख गर्दै घरपरिवारका मानिसले मात्रै मिर्गौला दिनमिल्ने बताएका जीवनले बताए ।
‘अहिले छोरीका दुवै हातखुुट्टा समेत चलेका छैनन्, मिर्गौला फेर्नका लागि पाँच लाख रुपैयाँ लाग्छ भनेका छन्’ जीवनले भने, ‘मिर्गौला फेरेपछि पनि नियमित औषधि सेवन गर्नुपर्ने रहेछ, महिनाको ३५ हजार रुपैयाँको औषधि खानुपर्छ भनेर डाक्टरले भनेका छन् ।’ आफ्नी छोरीलाई बँचाउनका लागि देश तथा विदेशमा भएका मानिसलाई आग्रह गर्दै उनले सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।
इनर भिजन सोसाइटी नेपालले मिर्गौला पीडित सङ्गीताको उपचार खर्च जुटाउनका लागि सङ्गीता महतोको जीवन बचाउने अभियान सुरु गरेको छ । सङ्गीताको उपचारका लागि सोसाइटीले ६÷७ दिनमा ६० हजार रुपैयाँ संकलन गरेको इनर भिजन सोसाइटी नेपालका अध्यक्ष पूर्ण बहादुर गाहा मगरले बताए । सङ्गीताको उपचारका लागि सहयोग गर्न समेत मगरले सबैसँग अपील गरेका छन् ।
सङ्गीताको उपचारका लागि इनर भिजन सोसाइटीको नाममा कुमारी बैंक लिमिडेटमा रहेको खाता नम्बर ०११००५०९१८४००००१ मा आर्थिक सहयोग गरिदिन समेत मगरले आग्रह गरेका छन् ।